विद्यालयको ६१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस : उपलब्धि, प्रतिबद्धता र उत्साहको उत्सव
शिक्षा जीवनको आधारशिला हो र विद्यालय त्यस आधारशिलालाई मजबुत बनाउने प्रमुख संस्था हो। यही भावनालाई आत्मसात गर्दै हाम्रो विद्यालयको ६१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह २०८२ साल पौष २४ र २५ गते विद्यालय परिसरमा विभिन्न शैक्षिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूको आयोजना गरी भव्य रूपमा सम्पन्न भयो। यो अवसर विद्यालय परिवार, अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा रह्यो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री माधव पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सिरानचोक गाउँपालिकाका अध्यक्ष श्री ज्ञानेन्द्र गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष श्रीमती रिता देवकोटा तथा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्री सुशील नरालको उपस्थिति रहेको थियो। अतिथिहरूले विद्यालयको शैक्षिक योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षाका लागि निरन्तर प्रयास गर्न प्रेरणा प्रदान गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष श्रीमती रिता देवकोटाले पालिकाको शैक्षिक उन्नयनमा यस विद्यालयले खेलेको भूमिकालाई उल्लेख गर्दै विद्यालयले भविष्यमा अझ धेरै प्रगति गर्ने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी शिक्षा शाखा प्रमुख श्री सुशील नरालले विद्यालयको हालसम्मको शैक्षिक उपलब्धि, शिक्षक तालिम, अभिभावक शिक्षा र विद्यालय–समुदाय सम्बन्धका विषयमा प्रकाश पार्दै निरन्तर सुधार र नवप्रवर्तनको आवश्यकता औंल्याउनुभयो।
कार्यक्रमको महत्वपूर्ण अंशका रूपमा विद्यालयका प्रधानाध्यापक श्री ज्ञानेन्द्र प्रसाद पोखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदनमा विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, विद्यार्थी उपलब्धि, आगामी योजना तथा विद्यालयले सामना गरिरहेका चुनौतीहरूबारे स्पष्ट रूपमा जानकारी गराइएको थियो। यसले विद्यालयको पारदर्शिता र उत्तरदायित्वलाई अझ बलियो बनाएको छ।
वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। साथै विद्यालयमा स्थापित विभिन्न अक्षयकोषका संरक्षकहरूको सहयोगमा करिब १०० भन्दा बढी विद्यार्थीलाई झण्डै १ लाख ६० हजार रुपैयाँ बराबरको नगद तथा जिन्सी शैक्षिक सामग्री वितरण गरिनु यस कार्यक्रमको प्रेरणादायी पक्ष रह्यो।
समारोहलाई थप आकर्षक बनाउन कक्षागत नृत्य, बाल खेलकुद, डोरी तान्ने प्रतियोगिता, अभिभावक होडी फुटाउने प्रतियोगिता लगायतका कार्यक्रमहरू सञ्चालन गरिएका थिए। यसै शैक्षिक सत्रमा विद्यालयबाट सरुवा भई जानु भएका शिक्षकद्वय श्री रामचन्द्र घिमिरे र श्री सरोज पोखरेललाई “फेरी भेटौँला” कार्यक्रममार्फत सम्मान गरिनु विद्यालयको आत्मीय संस्कृतिको परिचायक हो।
यसै क्रममा शिक्षक श्री प्रकाश पोखरेलद्वारा प्रस्तुत गरिएको स्काउट प्रदर्शन तथा स्काउट गीतले कार्यक्रममा थप रौनकता ल्यायो। प्रमुख अतिथि श्री गुरुङले उक्त प्रदर्शनलाई अर्थपूर्ण र अनुकरणीय भएको प्रतिक्रिया दिनुभयो।
कार्यक्रमको स्वागत मन्तव्य सहायक प्रधानाध्यापक श्री हरिनारायण श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन शिक्षक श्री रामशरण पोखरेलले गर्नुभएको थियो। समग्रमा, ६१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह विद्यालयको विगतको उपलब्धिको समीक्षा, वर्तमानको उत्सव र भविष्यप्रतिको दृढ प्रतिबद्धताको प्रतीकका रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।